काठमडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई सहजै पराजित गरेको छ । आज भएको पहिलो खेलमा नेपालले एसीटीमाथि ४१ रनको जित दर्ता गरेको हो ।
१७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटिएको हो । एसीटीका ब्याटरलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन जोडेको थियाे । नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३६ रन, आरिफ शेखले १८ बलमा २४ रन तथा दीपेन्द्रसिंह ऐरीले १५ बलमा २१ रन जोडे ।
टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले एसीटीसँग खेलेको हो । एसीटीसँग २ खेल्ने नेपालले साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।













