काठमाडाैं । यूएईमा जारी टी-२० त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३९ रनले पराजित गरेको छ। शुक्रबार साँझ शारजाहमा भएको खेलमा १८३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको ब्याटिङ सुरुमा राम्रो देखिए पनि बीचमा लगातार विकेट गुमाउँदा हार बेहोर्न पुग्यो।
१८३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको टोली १९.५ ओभरमा १४३ रनमा अलआउट हुन पुग्यो। अफगानिस्तानको इनिङ्स ९२/२ को अवस्थामा रहेको बेला नाटकीय रुपमा पतन हुन सुरु भएकाे थियाे । हरिस रउफ र सुफ्यान मुकीमले २-२ विकेट लिएपछि अफगान टिम १७ बलको अन्तरालमा ९७/७ को दयनीय स्थितिमा पुगेकाे थियाे ।
अफगानिस्तानका लागि कप्तान राशिद खानले १६ बलमा ३९ रनको आक्रामक पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै, रहमुनल्लाह गुर्बाजले २७ बलमा ३८ र सेदिकुल्लाह अतलले १९ बलमा २३ रन जोडेका थिए।
पाकिस्तानको जितमा बलरहरुको भूमिका पनि उल्लेखनीय रह्यो। तीव्र गतिका बलर हरिस रउफले ३.५ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। यस्तै, सुफ्यान मुकीम, शाहिन अफ्रिदी र मोहम्मद नवाजले समान २-२ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको सुरुवात राम्रो भए पनि लगातार विकेट गुमाउँदै ८३/४ को कमजोर अवस्थामा पुगेको थियो। तर कप्तान सलमान अली आगाले उत्कृष्ट अर्धशतक पारी खेलेर टिमलाई संकटबाट बाहिर निकाले। उनले मोहम्मद नवाजसँग ५० रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई १८३ रनको चुनौतीपूर्ण योगफलसम्म पुर्याएका थिए।
यस्तै, साहिबजादा फरहानले १० बलमा २१ र मोहम्मद नवाजले ११ बलमा २१ रनको आक्रामक पारी खेले।













