काठमाडाैं । इंग्लिस प्रिमियर लिगको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३-२ गोल अन्तरले पराजित गर्दै यस सिजनको पहिलो लिग जित हासिल गरेको छ।
वल्ड ट्राफोर्डमा भएको यो खेलमा दुवै टोलीले निकै प्रतिस्पर्धात्मक प्रदर्शन गरे।
खेलको २७ औं मिनेटमा बर्नलीका खेलाडी जोस कुलेनले आत्मघाती गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अग्रता लिएको थियो। यद्यपि, बर्नलीले दोस्रो हाफमा खेलमा फर्कियो। ५५ औं मिनेटमा लाइल फोस्टरले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
बराबरीको दुई मिनेटपछि नै म्यानचेस्टर युनाइटेडका ब्रायन म्ब्युमोले गोल गर्दै टोलीलाई पुनः २-१ को अग्रता दिलाए । तर, खेलको ६६ औं मिनेटमा जेडन एन्थोनीले बर्नलीका लागि पुनः बराबरी गोल फर्काए। यसपछि खेल २-२ को स्थितिमा पुगेको थियो।
खेलको अन्तिम क्षणसम्म पनि कुनै टोलीले गोल गर्न सकेन र खेल बराबरीमा सकिने अनुमान गरिएको थियो। तर, इन्जुरी समयको ९७ औं मिनेटमा म्यानचेस्टर युनाइटेडले पेनाल्टी पायो। ब्रुनो फर्नान्डिसले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै म्यानचेस्टर युनाइटेडलाई ३-२ को जित दिलाए ।













