भदौयता पाँच नेपाली चलचित्र प्रदर्शन -वाइरिबल

भदौ १५, २०८२
friday release lRswirpFCe by Ditible

काठमाडौं । भदौ महिनायता नेपाली चलचित्र प्रदर्शनको सङ्ख्या बढिरहेको छ । असार र साउनमा न्यून सङ्ख्यामा नेपाली चलचित्र प्रदर्शन भएका थिए । यद्यपि भदौको सुरुआतसँगै चलचित्र भवनमा नेपाली चलचित्रको चाप बढेको छ । भदौयता पाँच नेपाली चलचित्र प्रदर्शन भएका छन् ।

भदौको पहिलो साता ६ गतेदेखि ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’, १२ गतेदेखि ‘कोशेढुङ्गा’ र १३ गतेदेखि ‘गुन्यो चोलो’ प्रदर्शनको सुरुआत गरेका थिए । उल्लेखितमध्ये ‘ताराहरू’मा दर्शक अभाव देखिएको भन्दै प्रदर्शकले प्रदर्शन हटाएका छन् भने साउनको अन्तिम साता २३ गतेदेखि प्रदर्शनरत चलचित्र ‘मोहर’ हालसम्म प्रदर्शन भइरहेको छ । यसकारण अहिले नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि चलचित्र भवनमा पाँच चलचित्र उपलब्ध छन् ।

चलचित्र ‘मोहर’ले देवीदेवताका सेवाका नाममा अवोध कन्या बालिकालाई ‘देउकी’ बनाउनेजस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिए । बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई निरुत्साहित गर्ने सन्देश प्रवाह गर्ने बताइएको उक्त चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङ्ग शाही, मिस पविलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा भूपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको चलचित्र ‘माग्ने राजा’मा ‘माग्ने बुढा’को उपनामले चिनिएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा छन् ।

उनले भने, “पहिलोपटक चलचित्रको सम्पूर्ण भार आफूमा लिएर काम गरेँ । चलचित्र प्रदर्शन भएदेखि नै विभिन्न चलचित्र भवनमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेको छु । मैले दर्शकको समय र पैसाको सदुपयोग गराउन सकेर मनोरञ्जन दिएँ भन्ने लागेको छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हास्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ । चलचित्रमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिए तापनि यसले एउटा महत्त्वपूर्ण शिक्षा पनि दिन्छ ।”

उक्त चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल, शिशिर बाङ्गदेललगायत कलाकारले अभिनय गरेका छन् । मुनाल घिमिरेले निर्माण गरेकाे उक्त चलचित्रमा ऋषि लामिछाने निर्देशक, सामीप्यराज तिमल्सेना लेखक, मित्र गुरुङले सम्पादन, नरेन्द्र मैनालीले छायाङ्कन र सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सृजना गरेका छन् ।

प्रदर्शनरत चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ अभिनेता विजय बरालमा केन्द्रित छ । ‘पूर्णबहादुरको सारङ्गी’पश्चात शीर्ष भूमिकामा देखिएका अभिनेता बरालले पनि कलाकार केदार घिमिरेझैँ चलचित्रको भार आफूमा भएको महसुस गरेका छन् ।

उनले भने, “मेरो पात्रले आफ्ना छुटेको सम्बन्ध जोड्न चाहेको छ । तर, त्यो पात्र जनै धागोझैँ घुमेर फस्छ । यसको कथाले नै मलाई आकर्षित गर्यो । पछि पटकथा बनेर आएपछि म झनै आकर्षित भएँ । यो एउटा राम्रो पारिवारिक चलचित्र बनेको छ । यो सामान्य तथा सरल कथामा बनेको चलचित्र हो । साथै, शीर्ष भूमिकाको भार बोक्दा पहिलोपटक फरक अनुभूति गरेँ ।”

हिमाल न्यौपानेको निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, रेयर राईलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

प्रदर्शनरत चलचित्र ‘कोशेढुङ्गा’मा अभिनेत्री सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा, आर्यन सिग्देललगायत कलाकारले अभिनय गरेका छन् । ‘पूर्गबहादुर सारङ्गी’ निर्देशन गरेपछि चर्चामा आएका निर्देशक सरोज पौडेलले निर्देशन गरेकाे ‘कोशेढुङ्गा’मा बिहेपछि एक महिलाले आफ्नो गाउँठाउँ फर्कन गरिएको यात्राको कथा देखाएका छन् ।

त्यसैगरी, प्रदर्शनरत पाँचौँ चलचित्र ‘गुन्योचोलोः द ड्रेस’लाई समुन्द्र भट्टले निर्देशन गरेका छन् । अभिनेता नाजिर हुसेनले उक्त चलचित्रमा पारलैङ्गिक महिलाको चरित्र निर्वाह गरेका छन् । अभिनेता हुसेनसँगै उक्त चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रदर्शकले दिएको शो सङ्ख्या र अनलाइन माध्यममा देखिएको टिकट बुकिङ र बिक्री हेर्दा अन्य चलचित्रको तुलनामा ‘माग्ने राजा’ व्यावसायिक रूपमा अगाडि देखिएको प्रदर्शक तथा वितरकले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.