एलेक्जेन्डर इसाक १२५ मिलियन युराेकाे कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्धित -वाइरिबल

भदौ १७, २०८२
isac by Ditible

काठमाडाैं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले न्युकासल युनाइटेडका स्ट्राइकर एलेक्जेन्डर इसाकलाई ब्रिटिश कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ।

लिभरपुलले २७ वर्षीया स्वीडिस अन्तर्राष्ट्रिय खेलाडीलाई १२५ मिलियन युराेमा अनुबन्ध गरेको हो, जसले प्रिमियर लिग इतिहासमा सबैभन्दा महँगो स्थानान्तरणको कीर्तिमान बनाएको छ। स्रोतका अनुसार एड-अर्न‍सहित यो सम्झौता १३० मिलियन युराेसम्म पुग्न सक्नेछ।

इसाकले क्लबको वेबसाइटमा भनेका छन्, “यो मेरो करियरको लागि अर्को कदम हो। मलाई यो मौका दिएकोमा म धेरै खुसी छु र यसको सदुपयोग गर्न म एकदमै उत्प्रेरित छु।”

उनले थपे, “म इतिहास रच्न र ट्रफीहरू जित्न चाहन्छु। यही नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हो। यो मेरो खेललाई अर्को स्तरमा पुर्याउन र टिमलाई मद्दत गर्नको लागि उत्तम ठाउँ हो।”

सोमबार ट्रान्सफरको अन्तिम दिनमा मेडिकल परीक्षणपछि इसाकले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका छन्। उनी लिभरपुलमा ९ नम्बरको जर्सी लगाउनेछन्। लिभरपुलले यसअघि अगस्टमा इसाकका लागि राखेको ११० मिलियन युराेको प्रस्ताव न्युकासलले अस्वीकार गरेको थियो ।

इसाकको स्थानान्तरणपछि लिभरपुलको यस ग्रीष्मकालीन सिजनको खर्च ४१६.२ मिलियन युराेपुगेको छ, जुन प्रिमियर लिगको इतिहासमा एकै ट्रान्सफर विन्डोमा कुनै पनि क्लबले गरेको सबैभन्दा धेरै खर्च हो। यसअघि चेल्सीले सन् २०२३ मा ४०१.२ मिलियन युराे खर्च गरेको थियो।

यस सिजन लिभरपुलले जर्मनीका अट्याकिङ मिडफिल्डर फ्लोरियान विर्टजलाई पनि १०० मिलियन युराेको क्लब रेकर्ड मूल्यमा अनुबन्ध गरेको थियो। यसबाहेक, उनीहरूले ह्युगो एकिटिके, मिलोस केरकेज, जेरेमी फ्रिम्पोङ, जिओर्गी मामारदास्भिली, आर्मिन पेक्सी र जियोभानी लिओनी जस्ता खेलाडी पनि भित्र्याएका छन्।

इसाकले गत सिजन सबै प्रतियोगितामा ४२ खेलमा २७ गोल गरेका थिए। न्युकासलले यसै ट्रान्सफर विन्डोमा जर्मनीका स्ट्राइकर निक वोल्टेमाडे र ब्रेन्टफोर्डका फरवार्ड योआने विस्सालाई ५० मिलियन युराेमा अनुबन्ध गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.