काठमाडाैं । एसिया कप २०२५ को तयारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा जारी टी-२० त्रिकोणीय क्रिकेट शृंखलामा अफगानिस्तानले पाकिस्तानलाई १८ रनले पराजित गरेको छ।
शारजाह क्रिकेट स्टेडियममा भएको रोमाञ्चक खेलमा अफगानिस्तानले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको थियो।
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६९ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। अफगानिस्तानको इनिङ्समा इब्राहिम जाद्रान र सेदिकुल्लाह अटलले अर्धशतकीय पारी खेल्दै महत्वपूर्ण साझेदारी गरेका थिए। जाद्रानले ४५ बलमा ६५ रन बनाउँदा अटलले पनि ४५ बलमा ६४ रन जोडे। यी दुईबीच दोस्रो विकेटका लागि ११३ रनको उत्कृष्ट साझेदारी भएको थियो।
पाकिस्तानका लागि फहिम अशरफले कसिलो बलिङ गर्दै २७ रन खर्चेर ४ विकेट लिएका थिए।
त्यसपछि १७० रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात राम्रो भए पनि मध्यक्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाएपछि दबाबमा आएका थिए। पाकिस्तानका लागि कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। तल्लो क्रममा आएका हरिस रउफले १६ बलमा नटआउट ३४ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो।
अफगानिस्तानको जितमा मुख्य भूमिका स्पिनरहरूले निभाएका थिए। कप्तान राशिद खान, मोहम्मद नबी र नूर अहमदले पाकिस्तानी ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन्। तीनै जनाले २-२ विकेट लिएका थिए।
यसैगरी, तीव्र गतिका बलर फजलहक फारुकीले पनि २ विकेट लिएर पाकिस्तानको शीर्षक्रम ध्वस्त पारेका थिए।
यस जितसँगै अफगानिस्तानले यसै शृंखलाको पहिलो खेलमा पाकिस्तानसँग भोगेको हारको बदला लिएको छ। पाकिस्तानका लागि यो यस शृंखलामा पहिलो हार हो।













