अष्ट्रेलियाका विष्फोटक ब्याटर क्रिस लिनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने -वाइरिबल

भदौ १९, २०८२
Chris Lynn 5 by Ditible

काठमाडौं । अष्ट्रेलियाका विस्फोटक ब्याटर क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । उनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने तय भएको हो । तर, यस विषयको आधिकारिक घोषणा भने भइसकेको छैन ।

‘लिन्सानिटी’ को उपनामले परिचित क्रिस लिन आफ्नो शक्तिशाली छक्का र आक्रामक ब्याटिङका लागि विश्वविख्यात छन् । उनको आगमनले एनपिएलको स्तरलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

दोस्रो सिजनको एनपिएल आगामी मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । यो सिजनमा सबै ८ टोलीहरुले घरेलु खेलाडीहरुलाई मिनी अक्सनमार्फत भित्र्याइसकेका छन् ।

अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिमले यसपटक उपाधि नै जित्ने लक्ष्यका साथ क्रिस लिनलाई भित्राएको प्रष्ट देखिन्छ । सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै अस्ट्रेलियन ब्याटर क्रिस लिन आउने संकेत दिएको हो । पोस्टमा अस्ट्रेलियाको जर्सी लगाएको ब्याटरको तस्बिर देखिन्छ, जसमा ३९५५ रन र २२० छक्काको तथ्यांक उल्लेख गरिएको छ । यो तथ्यांक ठ्याक्कै क्रिस लिनको बीबीएल प्रदर्शनसँग मिल्छ ।

पोस्टमा खेलाडीको नाम नखुलाए पनि, सानो फोटो र उल्लेखित केही हिन्टहरूले तस्विरका खेलाडी क्रिस लिन नै भएको स्पष्ट देखिन्छ ।

क्रिस लिनको जन्म सन् १९९० अप्रिल १० मा अस्ट्रेलियाको ब्रिस्बेनमा भएको हो । उनले अस्ट्रेलियाको घरेलु क्रिकेटमा क्वीन्सल्यान्डबाट खेल्दै आफ्नो करियर सुरु गरेका थिए । लिनको मुख्य विशेषता भनेको उनको पावर हिटिङ नै हो । उनी छक्का प्रहारमा माहिर छन् । अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट उनले सन् २०१४ देखि २०१८ सम्म खेल्दै ४ एकदिवसीय र १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । टी–२० मा उनले २९१ रन बनाएका छन्, जसमा उनको स्ट्राइक रेट १४० भन्दा बढी रहेको छ ।

लिनको अन्तर्राष्ट्रिय करियर छोटो भएपनि फ्रेन्चाइज लिगहरूमा उनी सुपरस्टार खेलाडी नै हुन् । अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा उनले ब्रिस्बेन हिट र एडिलेड स्ट्राइकर्सबाट खेल्दै १२७ खेलमा ३९५५ रन बनाएका छन् । यसमा २२० छक्का समावेश छन्, जुन बीबीएलको इतिहासमा उल्लेखनीय रेकर्डमध्ये एक हो । उनको औसत ३७.४९ र स्ट्राइक रेट १४८.८३ रहेको छ । बीबीएलमा उनी दुई पटक प्लेयर अफ द टुर्नामेन्ट नै बनेका छन् ।

यसबाहेक, इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबाट खेल्दै ४२ खेलमा १३२९ रन बनाएका छन्, जसमा १० अर्धशतक समावेस छन् । पाकिस्तान सुपर लिग (पीएसएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) र ग्लोबल टी–२० क्यानडा जस्ता लिगहरूमा पनि उनको प्रदर्शन उत्कृष्ट रहेको छ ।
लिनको खेल शैलीले उनलाई ‘बिग हिटर’ को रूपमा स्थापित गरेको छ ।

Leave a Reply

Your email address will not be published.