काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत हिजो भएको एक रोमाञ्चक खेलमा युभेन्टसले इन्टर मिलानलाई ४-३ गोलअन्तरले पराजित गरेको छ ।
खेलको सुरुवातदेखि नै दुवै टोलीले निकै आक्रामक खेल खेलेका थिए। खेलको १४औं मिनेटमा लोइड केलीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। तर, इन्टरका मिडफिल्डर हाकान चाल्हानोग्लुले ३०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए। त्यसको लगत्तै, ३८औं मिनेटमा केनान यिल्डिजले गोल गर्दै युभेन्टसलाई फेरि २-१ को अग्रता दिलाए।
खेलको ६५औं मिनेटमा चाल्हानोग्लुले आफ्नो दोस्रो गोल गर्दै इन्टरका लागि खेल २-२ को बराबरीमा ल्याए। त्यसको केही समयपछि नै मार्कस थुरामले ७६औं मिनेटमा गोल गर्दै इन्टरलाई ३-२ को अग्रता दिलाए ।
तर, युभेन्टसले हार मानेन। खेलको ८२औं मिनेटमा खफ्रेन थुरामले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए । र, इन्जुरी समयको पहिलो मिनेटमा भसिलिजे आदजिचले निर्णायक गोल गर्दै युभेन्टसलाई ४-३ को रोमाञ्चक जित दिलाए।













