काठमाडाैं । दुबईमा भएको एसिया कप २०२५ मा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ। कोलम्बोको आर प्रेमादासा स्टेडियममा भएको यो टी-२० खेलमा भारतले उत्कृष्ट प्रदर्शन गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो। पाकिस्तानका लागि साहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए भने शाहीन अफ्रिदीले ३३ रन जोडेका थिए।
भारतका बलर कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १८ रन दिएर ३ विकेट लिएका थिए। यसै प्रदर्शनका कारण उनी म्यान अफ द म्याच समेत बनेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको भारतले १५.५ ओभरमै ३ विकेटको क्षतिमा १३१ रन बनाएर जित हात पारेको थियो । भारतको जितमा सूर्यकुमार यादवले अविजित ४७ रन बनाएका थिए भने अभिषेक शर्मा र तिलक बर्माले ३१/३१ रनको योगदान दिएका थिए।
यो जितसँगै भारतले ग्रुप स्टेजको यो खेलमा आफ्नो वर्चस्व कायम गरेको छ। तर खेल अन्तिममा विवादमा तानिएकाे छ । विजयी रन हानेर भारतलाई जिताएका यादव आफ्नो ब्याटिङ पार्टनर शिवम दुबेसँगै मैदानबाट बाहिरिए। खेल सकिएपछि परम्परागत रूपमा हुने हात मिलाउने क्रममा उनीहरूले पाकिस्तानी कप्तान र टोलीसँग हात मिलाएनन्।
पाकिस्तानी खेलाडीहरू एकै समूहमा मिलेर भारतीय टोली र सहयोग कर्मचारीहरू आउलान् र खेलको अन्त्यमा गरिने सामान्य हात मिलाउने परम्परा पूरा गर्लान् भनेर कुरिरहेका थिए। तर, भारतीय टोलीले एकअर्कासँग मात्र हात मिलाए र ड्रेसिङ रुममा गएर ढोका बन्द गरेपछि पाकिस्तानी खेलाडीहरू हेरेर मात्र बसे। भारतले याे जितलाई मे महिनामा दुई देशलाई युद्धको नजिक पुर्याएको ४ दिने सीमापार द्वन्द्वको लागि “उत्कृष्ट जवाफ” भएको बताएकाे छ ।













