काठमाडाैं । अबू धाबीमा बिहीबार एशिया कप अन्तर्गत अफगानिस्तानले दिएको १७० रनको चुनौतीपूर्ण लक्ष्य सहजै पछ्याउँदै श्रीलङ्का समूह बी मा अपराजित रहँदै सुपर फोरमा पुग्याे । यता ६ विकेटकाे हारले अफगानिस्तान एशिया कपबाट बाहिरियाे ।
तर जितकाे खुशीयाली मनाउन नपाउँदै एउटा दुखद् खबर आयाे । रिपोर्टहरूका अनुसार श्रीलंकाका स्पिनर दुनिथ वेल्लालागेका बुवा सुरङ्गा वेल्लालागेको कोलम्बोमा हृदयघातका कारण निधन भयाे । २२ वर्षीय दुनिथलाई जायद क्रिकेट स्टेडियममा खेलपछिको औपचारिकता सकिएपछि टिम व्यवस्थापकले यो दुःखद खबरकाे जानकारी दिएका थिए।
मिडियामा आएको फुटेजमा श्रीलङ्काका टिम व्यवस्थापक र मुख्य प्रशिक्षक सनथ जयसूर्याले सीमाना नजिकै दुनिथलाई सान्त्वना दिइरहेको देख्न सकिन्छ। खबर पाउनेबित्तिकै वेललागे स्वदेश फर्किएका छन्। यसले वेललागेको प्रतियोगितामा थप सहभागितामाथि पनि प्रश्न खडा गरेको छ। श्रीलंकाले सेप्टेम्बर २० मा बंगलादेश, सेप्टेम्बर २३ मा पाकिस्तान र सेप्टेम्बर २६ मा भारतसँग खेल्ने तालिका छ।
प्रतियोगिताको प्रसारणमा पूर्व श्रीलङ्काली ब्याट्सम्यान रसेल आर्नोल्डले खेललगत्तै भने, “दुनिथ वेल्लालागेका बुवा सुरङ्गाको भर्खरै निधन भएको छ। यो सुनेर धेरै दुःख लागेको छ। भर्खरै दुनिथलाई खबर दिइएको छ। परिवारप्रति समवेदना। जितको खुसी अवश्य नै कम हुनेछ।”













