काठमाडाैं । मेजर लिग सकरमा इन्टर मियामीले न्युयोर्क सिटीलाई उसकै घरेलु मैदानमा ४-० को शानदार गोल अन्तरले हराएको छ । यस जितसँगै इन्टर मियामीले एमएलएस कप प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।
न्युयोर्क सिटीको सिटि फिल्डमा भएको खेलमा इन्टर मियामीका लागि बाल्टासर रोड्रिग्वेज, लुइस स्वारेज र लियोनल मेसीले गोल गरे ।
खेलको ४३ औं मिनेटमा मेसीको पासमा बाल्टासर रोड्रिग्वेजले गोल गर्दै इन्टर मियामीलाई १-० को अग्रता दिलाए। यो गोलसँगै मेसीले यस सिजनमा आफ्नो ११ औं असिस्ट पूरा गरे।
दोस्रो हाफमा मेसी र स्वारेजको उत्कृष्ट प्रदर्शन देखियो। खेलको ७४ औं मिनेटमा सेर्जियो बुस्केट्सको पासमा मेसीले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता २-० बनाए। त्यसपछि ८३ औं मिनेटमा रोड्रिगो डे पाउललाई फाउल गरेपछि इन्टर मियामीले पेनाल्टी पायो, जसमा लुइस स्वारेजले सहजै गोल गरेर ३-० को स्थितिमा पुर्याए।
खेलको अन्त्यतिर मेसीले आफ्नो दोस्रो गोल गर्दै जितलाई अझै फराकिलो बनाए। ८८ औं मिनेटमा मार्सेलो विग्यान्डको पासमा उनले आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै खेलको अन्तिम गोल गरे। यो गोलसँगै मेसीको यस सिजनको गोल संख्या २४ पुगेको छ।
यस जितपछि इन्टर मियामी इस्टर्न कन्फरेन्सको तेस्रो स्थानमा उक्लिएको छ भने न्युयोर्क सिटी पाँचौं स्थानमा झरेको छ ।













