काठमाडौं । पाकिस्तान एसिया कपको फाइनलमा प्रवेश गरेको छ । गएराति एसिया कपको सुपर फोर अन्तर्गतको खेलमा बंगलादेशलाई ११ रनको रोमाञ्चक अन्तरले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो।
पाकिस्तानका लागि मोहम्मद हारिसले सर्वाधिक ३१ रन, मोहम्मद नवाजले २५ रन र शाहीन अफ्रिदीले १९ रन बनाएका थिए। बंगलादेशका तर्फबाट टास्किन अहमदले उत्कृष्ट बलिङ गर्दै २८ रन खर्चेर ३ विकेट लिए भने रिशाद हुसेन र मेहेदी हसनले २/२ विकेट लिएका थिए।
१३६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो। बंगलादेशका लागि शमिम हुसेनले सर्वाधिक ३० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
पाकिस्तानको जितमा बलरहरुको प्रदर्शन निर्णायक रह्यो। शाहीन अफ्रिदीले १७ रन खर्चेर ३ विकेट र हारिस रउफले ३३ रन खर्चेर ३ विकेट लिँदै बंगलादेशको ब्याटिङ लाइनअपलाई कमजोर बनाएका थिए। यसैगरी, सईम आयुबले पनि २ विकेट लिए।
अब उपाधिका लागि पाकिस्तानले भारतसँग खेल्नुपर्ने भएको छ ।













