टियु मैदानमा उठाइयो फ्लडलाइटको पहिलो टावर -वाइरिबल

अशोज १४, २०८२
555562283 122179299776487087 5361604908725919635 n by Ditible

काठमाडौं । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डे-नाइट म्याच सञ्चालन गर्ने लक्ष्यसहित फ्लडलाइट जडान कार्यले तीव्रता पाएको छ । यसै क्रममा फ्लडलाइटको पहिलो टावर सफलतापूर्वक खडा गरिएको छ।

खेलकुद पूर्वाधारको विकासमा महत्त्वपूर्ण कदम मानिएको यो परियोजना अन्तर्गत कुल ६ वटा फ्लडलाइट टावर जडान गरिनेछ । पहिलो टावरको सफल निर्माणले अन्य टावरहरू पनि छिट्टै स्थापना हुने बाटो खुलेको हाे । अब बाँकी टावरहरू पनि द्रुत गतिमा जडान गरिनेछ। प्राविधिकहरूले दिएको जानकारीअनुसार, पहिलो टावर जडानपछि अबको केही हप्ताभित्रै सबै टावर खडा गरिसक्ने योजना रहेको छ। टावर अहिले उठाइएपनि लाइट भने पछि जोडिनेछ ।

टावर सबै उठाएपछि लाइट टेस्टिङको काम हुनेछ र टेस्टिङ सम्पन्न भएपछि रातिको समयमा खेल खेलाउन योग्य हुनेबारे निष्कर्ष आउनेछ । त्रिवि क्रिकेट मैदानमा जडान गरिने ६ वटा फ्लडलाइटका लागि जडान गरिने कूल ४२० वटा लाइटमध्ये १४० वटा लाइटहरू आइपुगिसकेका छन् । लाइट यूरोपेली मुलुक इटलीबाट आएको हो ।

फ्लडलाइट जडानका लागि ललितपुरको विशन इश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको छ।

टियु मैदानमा फ्लडलाइट जडान र प्यारापिट निर्माणको कार्य शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको रेखदेखमा भइरहेको छ । फ्लडलाइट जडानपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डे नाइट क्रिकेट म्याचहरू आयोजना गर्न सक्नेछ, जसले नेपाली क्रिकेटको विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published.