काठमाडाैं । घरेलु टोली ओमानले आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा समोआमाथि शानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ। आज अल अमेरात क्रिकेट ग्राउन्डमा भएको समूह चरणको पहिलो खेलमा ओमानले समोआलाई ५ विकेटले पराजित गरेकाे हाे ।
टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको ओमानका बलरहरूले समोआको ब्याटिङ लाइनअपलाई धेरै बेर टिक्न दिएनन्। समोआले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९२ रन बनाउन सक्यो। समोआका लागि फेरेटी सुलुलोटो र रोस टेलरले समान २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्।
ओमानको कसिलो बलिङमा फैजल शाहले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा मात्र १२ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए र यसै प्रदर्शनका कारण उनी ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए। यस्तै, मोहम्मद नदीम र आमिर कलीमले पनि २-२ विकेट लिए।
जवाफमा ९३ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। ओमानका लागि ओपनर मोहम्मद नदीमले २१ रनको नटआउट पारी खेल्दै टिमलाई जितसम्म पुर्याए। यस्तै, हम्माद मिर्जाले १८ रन र आशिश ओदेदाराले १५ रनको योगदान दिए।
समोआका साउमानी तियाईले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
ओमानले १८ बल बाँकी छँदै ५ विकेटले खेल जितेर विश्वकप छनोट समूहमा महत्त्वपूर्ण २ अंक जोड्न सफल भएको छ।













