काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता’को कारोबार विवरण सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरणअनुसार सर्वाधिक कमाइ बलिदानले गरेको छ । उक्त फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ ।
सन्तोष सेनले निर्देशन गरेको यस फिल्ममा अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा, निर्देशक सेनसहित सौगात मल्ल, अर्पण थापा, कविता राय, प्रेम पुरी लगायतले अभिनय गरेका छन् । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यसमा महेश पौडेलको डीओपी, सुजन चापागाईँको संगीत तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
‘बलिदान’लाई दर्शकबाट ‘वर्ड अफ माउथ’ पनि सकारात्मक मिलेको छ ।
यसैगरी हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ । दीपेन्द्र के खनाल निर्देशित यस फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मले स्थिर ब्यापारलाई निरन्तरता दिइरहेको छ ।
यता मिलन तामाङले निर्देशन गरेको माइतीघरले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ सङ्कलन गरेको बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ। तामाङ समुदायको कथा समेटिएको यो फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा प्रेमकथा छ, प्रेमका लागि गरिएको संघर्ष छ । पारिवारिक द्वन्द्वबीच प्रेम प्राप्तिको भरमग्दुर प्रयास छ ।













