काठमाडाैं । आईसीसी महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
श्रीलङ्काको आर. प्रेमदासा स्टेडियममा भएको उक्त खेलमा टस जितेर पाकिस्तानले फिल्डिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रनको मध्यम योगफल तयार पारेको थियो ।
अष्ट्रेलियाको तर्फबाट ओपनर बेथ मुनीले उत्कृष्ट ब्याटिङ गर्दै ११४ बलमा १०९ रनको शतकीय पारी खेलिन् । उनको यो प्रदर्शननै टोलीका लागि निर्णायक सावित भयो । यस्तै, तल्लो क्रममा अलाना किङ्गले पनि महत्वपूर्ण ५१ रन (नटआउट) जोडिन्।
पाकिस्तानको बलिङतर्फ नाश्रा सन्दुले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट हात पारेकी थिइन् भने रमीन शमिम र फातिमा सनाले २-२ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानको टोलीले कमजोर प्रदर्शन गर्यो। टोली ३६.३ ओभरमा मात्र ११४ रनमा अलआउट भयो । पाकिस्तानका लागि सिद्रा अमिनले सर्वाधिक ३५ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
अष्ट्रेलियाको बलियो बलिङ सामु पाकिस्तानका खेलाडीहरू टिक्न सकेनन्। अष्ट्रेलियाका लागि किम गार्थले कसिलो बलिङ गर्दै ६ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिइन्। यस्तै, अन्नाबेल सदरल्याण्ड र मेगन शुटले २-२ विकेट लिए।













