काठमाडौं । पोर्चुगल तथा साउदी प्रो लिगको क्लब अल-नासरका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै पहिलो अर्बपति खेलाडी बनेका छन्। वित्तीय सूचना तथा मिडिया फर्म ब्लुमबर्गका अनुसार रोनाल्डोको कुल सम्पत्ति १.४ अर्ब डलर पुगेको हाे ।
४० वर्षीय रोनाल्डोको सम्पत्तिको मूल्याङ्कन गर्न ब्लुमबर्गले पहिलो पटक आफ्नो ब्लुमबर्ग बिलियनियर्स इन्डेक्समा उनलाई समावेश गरेको हो। यस मूल्याङ्कनमा उनको करियरको आम्दानी, लगानी र इन्डोर्समेन्टहरूलाई आधार मानिएको छ।
ब्लुमबर्गका अनुसार रोनाल्डोले सन् २००२ देखि २०२३ को बीचमा तलबबाट मात्र ५५० मिलियन डलरभन्दा बढी कमाएका छन्। उनको आम्दानीको ठूलो हिस्सा विभिन्न सम्झौता र प्रायोजनबाट आएको छ, जसमा नाइकीसँगको एक दशक लामो सम्झौता पनि सामेल छ। यो सम्झौताबाट उनले वार्षिक करिब १८ मिलियन डलर पाउँछन्।
सन् २०२२ मा अल-नासरमा अनुबन्ध हुँदा रोनाल्डो फुटबल इतिहासकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका थिए। त्यस समय उनको वार्षिक तलब १७७ मिलियन डलर थियो।
यस वर्ष उनले क्लबसँग ४०० मिलियन डलरभन्दा बढी मूल्यको नयाँ दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले उनलाई ४२ वर्षभन्दा बढी उमेरसम्म क्लबमा कायम राख्नेछ।
रोनाल्डोसँग लामो समयसम्म प्रतिस्पर्धा गरेका अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सीले भने आफ्नो करियरमा कर पूर्वको तलबबाट ६०० मिलियन डलरभन्दा बढी कमाएको ब्लुमबर्गले जनाएको छ। सन् २०२३ देखि मेस्सीले इन्टर मियामीबाट वार्षिक २० मिलियन डलर ग्यारेन्टी तलब पाउँछन्, जुन सोही अवधिमा रोनाल्डोको आम्दानीको करिब १० प्रतिशत हो।













