यूएई सुपर सिक्समा, मलेसिया बाहिरियाे -वाइरिबल

अशोज २४, २०८२
waseem by Ditible

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्वालिफायरको समूह चरण अन्तर्गत भएको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा भएको रोमाञ्चक खेलमा यूएईले ४ बल बाँकी छँदै जित हात पारेको हो।

टस जितेर पहिले बलिङ रोजेको यूएईको निर्णय सही साबित भयो। मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो। मलेसियाका लागि अहमद फैजले ३९ बलमा सर्वाधिक ५४ रन बनाए भने शार्विन मुनियान्डीले २२ बलमा ४१ रन र मुहम्मद हाजिक ऐमान मोहम्मद हाफिजले ४१ रनको योगदान दिए।

यूएईका बलरतर्फ ध्रुव पराशरले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए। यस्तै, मुहम्मद इरफान र हैदर अलीले पनि १-१ विकेट हात पारे।

१६२ रनको लक्ष्य पछ्याएको यूएईले उत्कृष्ट ब्याटिङ गर्दै १९.२ ओभरमा ४ विकेट गुमाएर १६७ रन बनायो । यूएईका लागि कप्तान मुहम्मद वसिमले ८४ रनको शानदार अर्धशतकीय पारी खेले। उनले ५३ बलमा ८४ रन बनाए। त्यसैगरी, अलिशान शराफुले ३४ रन (३१ बल) र हर्षित कौशिकले नटआउट १८ रन (१६ बल) बनाएर टिमलाई जितसम्म पुर्‍याए।

मलेसियाका बलरमध्ये सैयद अजिजले ३ ओभरमा २० रन दिएर २ विकेट लिए। विजय उन्नी र आरिफ उल्लाहको भागमा १-१ विकेट रह्यो।

याेसँगै लगातार दाेस्राे जित दर्ता गरेकाे यूएईले सुपर सिक्समा स्थान सुरक्षित गरेकाे छ भने मलेसिया बाहिरिएकाे छ । मलेसिया यसअघि कतारसँग पराजित भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.