नेपालले जापानविरुद्ध पहिले बलिङ गर्ने -वाइरिबल

अशोज २४, २०८२
nepal vs japan by Ditible

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । नेपाल र जापान पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

नेपाल र जापान दुवैले आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गर्दै एक खेलअगावै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेका छन्। अब आजको खेलले विजेता र उपविजेताको टुङ्गो लगाउनेछ, जसको अंकभार सुपर सिक्स चरणमा पनि जोडिनेछ।

समूह चरणमा आफूले हराएको टिम पनि सुपर सिक्समा पुगेको अवस्थामा विजेता टोलीले उक्त खेल जितेको २ अंक लिएर जानेछ र सुपर सिक्समा फेरि खेल्नु पर्ने छैन । त्यसैले दुवै देश आजको खेल जसरी पनि जित्ने दाउमा छन् ।

बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन् । नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली सन्तुलित छ, जसमा अनुभवी खेलाडीहरूको मिश्रण छ। कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएका छन्। उनको मिडल अर्डरमा शक्तिशाली हिटिङ क्षमता छ, जसले विपक्षी बलरहरूलाई दबाब दिन्छ । उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ब्याटिङ र बलिङ दुवैमा योगदान दिन्छन्, जसले टोलीलाई बहुमुखी बनाएको छ।

खेलमा कुशल भुर्तेलले आक्रामक सुरुवात दिए नेपाललाई जित्न गाह्रो हुने छैन । कुवेतविरुद्ध पनि उनी २० ओभरसम्मै टिके र जिताए । यता स्पिनर सन्दीप लामिछाने टोलीको सबैभन्दा ठूलो हतियार हुन् – उनले कुवेतविरुद्ध २ विकेट लिँदै स्पिन आक्रमणको नेतृत्व गरेका थिए। सोमपाल कामी, करण केसी, कुशल मल्ला र गुलशन झालगायतको क्षमताले मिडल अर्डरलाई अझै मजबुत बनाएको छ।

यता उदीयमान क्रिकेटिङ राष्ट्रका रूपमा रहेको जापान ऐतिहासिक विश्वकप खेल्ने धुनमा छ । जापानको टोली नयाँ पुस्ताको उर्जाले भरिपूर्ण छ। वरीयतामा ४४औँ स्थानमा रहेपनि जापानी टोलीमा केही आक्रामक खेलाडी छन् जसले ठूलो नतिजा दिन सक्छन्। उसले बिहीबार कुवेतविरुद्ध १७७ रनको लक्ष्य ३ बल बाँकी हुँदा ५ विकेटले जित हासिल गर्दै मजबुत सुरुवात गरेको छ। यो जितले जापानको चेजिङ क्षमता र दबाबमा खेल्ने क्षमतालाई प्रमाणित गरेको छ। कुवेतविरुद्धको खेलमा इशाम रहमानले ६४ रनको शानदार अर्धशतकीय इनिङ खेलेका थिए भने कप्तान केन्डल काडोवाकी फ्लेमिङले आक्रामक सुरुवात दिएका थिए। उनीहरूले देखाएको लडाकु भावना नेपाली टोलीका लागि चुनौतीपूर्ण हुन सक्छ।

बलिङमा अब्दुल समद र अन्य पेसरहरूले विकेट लिने जिम्मेवारी लिन्छन्। जापानको टोलीमा अनुभव कम भए पनि लड्ने भावना र युवा ऊर्जाले उनीहरूलाई कुनै पनि खेलमा खतरनाक बनाउन सक्छ ।

Leave a Reply

Your email address will not be published.