काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन जोडेको हो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले अर्धशतकीय इनिङकोे योगदान गरे । ४६ बलमा उनले सर्वाधिक ६० रन जोडे । त्यस्तै, ए रहमान २५ बलमा ३१ रन बनाएर आउट भएका थिए । उनीहरु दुई ब्याटर क्रिजमा टिक्दा नेपालका बलरहरुलाई टाउको दुखाइ बनेका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र गुलसन झाले समान २/२ विकेट लिए । सोमपाल कामी र नन्दन यादवको हातमा एक एक विकेट रह्यो ।
नेपाल र जापान दुवैले आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गर्दै एक खेलअगावै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेका छन्। अब आजको खेलले विजेता र उपविजेताको टुङ्गो लगाउनेछ, जसको अंकभार सुपर सिक्स चरणमा पनि जोडिनेछ।
समूह चरणमा आफूले हराएको टिम पनि सुपर सिक्समा पुगेको अवस्थामा विजेता टोलीले उक्त खेल जितेको २ अंक लिएर जानेछ र सुपर सिक्समा फेरि खेल्नु पर्ने छैन । त्यसैले दुवै देश आजको खेल जसरी पनि जित्ने दाउमा छन् ।













