काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा दक्षिण अमेरिकी पावरहाउस ब्राजिलले एसियाली राष्ट्र दक्षिण कोरियामाथि ५–० को फराकिलो अन्तरको जित निकालेको छ।
दक्षिण कोरियामा भएको खेलमा ब्राजिलको युवा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई उसकै मैदानमा स्तब्ध बनाएकाे हाे ।
खेलको सुरुदेखि नै ब्राजिलले कोरियाली डिफेन्समा दबाब बनाएको थियो। खेलको १३ औं मिनेटमै एस्टेभाँले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिनु ठिक अघि ४१ औं मिनेटमा रोड्रिगोले गोल गर्दै ब्राजिललाई २–० को बलियो स्थितिमा पुर्याए।
दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो आक्रामक खेल जारी राख्यो। दोस्रो हाफ सुरु भएको केही मिनेटभित्रै थप दुई गोल भए । ४७ औं मिनेटमा एस्टेभाँले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको दुई मिनेटपछि ४९ औं मिनेटमा रोड्रिगोले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए।
खेलको ७७ औं मिनेटमा स्टार फरवार्ड भिनिसियस जुनियरले पाँचौ गोल गरेपछि ब्राजिलले ५–० को सहज जित सुनिश्चित गर्यो।
यो नतिजाले आगामी विश्वकप छनोट तथा ठूला प्रतियोगिताका लागि ब्राजिलको टोली बलियो बन्दै गएको संकेत दिएको छ।













