दक्षिण अफ्रिकामाथि नामिबियाको ऐतिहासिक जित -वाइरिबल

अशोज २६, २०८२
namibia by Ditible

काठमाडाैं । नामिबियाले क्रिकेट इतिहासमा एक ठूलो उलटफेर गर्दै आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय भिडन्तमा दक्षिण अफ्रिकालाई पराजित गरेकाे छ । नामिबियाले ४ विकेटकाे जित दर्ता गरेकाे हाे ।

दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन को सामान्य योगफल तयार पारेकाे थियाे । दक्षिण अफ्रिकाका लागि जेसन स्मिथले सर्वाधिक ३१ रन बनाए।

नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र २८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।

१३५ रनको लक्ष्य पछ्याएको नामिबियाको सुरुवात खासै राम्रो हुन सकेन। तर, विकेटकिपर ब्याट्सम्यान जेन ग्रीनले तल्लो क्रममा धैर्य र आक्रामक प्रदर्शन गरे।
उनले अन्तिम बलमा चौका प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। ग्रीनले २३ बलमा नटआउट ३० रन बनाए ।

अन्तिम ओभरमा नामिबियालाई जितका लागि ११ रन चाहिएको थियो। बलिङमा शानदार प्रदर्शन गरेका रुबेन ट्रम्पेलम्यानले ब्याटिङमा पनि नटआउट ११ रन बनाएर ग्रीनलाई साथ दिए। नामिबियाले अन्तिम बलमा ६ विकेट गुमाएर १३८ रन बनाउँदै खेल ४ विकेटले जित्यो ।

Leave a Reply

Your email address will not be published.