काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप छनाेटकाे सुपर सिक्स चरणमा ओमानले कतारमाथि ३४ रनकाे सानदार जित दर्ता गरेकाे छ ।
कतारले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रनको बलियो योगफल खडा गरेको थियो।
ओमानको ब्याटिङमा कप्तान जतिन्दर सिंहले ४० बलमा ७ चौका र ३ छक्कासहित ६६ रनको उत्कृष्ट अर्धशतक बनाए। यस्तै, आर्यन बिष्टले ३४ र अन्त्यमा विनायक शुक्लाले मात्र १५ बलमा ३० रनको आक्रामक योगदान दिएका थिए।
जवाफमा, जितका लागि १७३ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै जम्मा १३८ रन मात्र बनाउन सक्यो ।
कतारका लागि शारिक मुनिरले ३४ रन बनाउँदै सर्वाधिक स्कोर गरे भने शाहजैब जमिल अहमद र मुहम्मद असिम लियाकत-अलीले समान २१/२१ रन बनाएका थिए। तर, कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा कतार लक्ष्यभन्दा धेरै पछाडि रह्यो।
ओमानको कसिलो बलिङमा जितेनकुमार रामानन्दीले ३ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए। त्यस्तै सुफ्यान महमुदले २ विकेट लिए भने नदीम खानले १ विकेट हात पारे।
यो जितसँगै ओमानले सुपर सिक्सको अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ। विश्वकपमा स्थान बनाउनका लागि सुपर सिक्समा शीर्ष तीनमा रहनुपर्नेछ।













