काठमाडाैं । आईसीसी विश्वकप टी-ट्वान्टी क्वालिफायर अन्तर्गत ओमानमा जारी सुपर सिक्स चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले लगातार दाेस्राे हार व्यहाेरेकाे छ ।
ओमानको अल अमरात क्रिकेट ग्राउन्डमा आज भएकाे खेलमा यूएई घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएकाे हाे । यूएईले दिएको ११३ रनको सामान्य लक्ष्य ओमानले १९.४ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो।
यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो तर ओमानका बलरहरूको कसिलो प्रदर्शनका कारण निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो। यूएईका लागि कप्तान मुहम्मद वसीमले सर्वाधिक ३५ बलमा २२ रन र हर्षित कौशिकले १८ बलमा १९ रन बनाए पनि अन्य ब्याट्सम्यानले खासै ठूलो योगफल जोड्न सकेनन्।
ओमानको बलिङतर्फ शकील अहमद, जितेन रामानन्दी र सुफियान महमूदले उत्कृष्ट प्रदर्शन गर्दै समान १–१ विकेट लिए।
जवाफमा ११३ रनको लक्ष्य पछ्याएको ओमानले १९.४ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाउँदै जित हात पार्यो। ओमानका लागि जतिन्दर सिंहले २३ बलमा ३३ रनको महत्त्वपूर्ण इनिङ खेले भने नदीम खानले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा नटआउट ३० रन बनाएर टोलीलाई जितसम्म पुर्याए।
यूएईको बलिङमा ध्रुव पराशर, हर्षित कौशिक र जाहिद अलीले १–१ विकेट लिए पनि उनीहरूको प्रयास जितका लागि पर्याप्त भएन।
ओमानसँग पराजित भएपछि नेपाललाई ठूलो फाइदा पुगेको छ। सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । आज अंकविहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ । आइतबार भएको खेलमा समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ ।













