काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक क्वालिफायर अन्तर्गत सुपर सिक्सको महत्त्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्सले जापानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
ओमानको अल अमरात क्रिकेट ग्राउन्डमा भएको यस प्रतिस्पर्धामा यूएईले सानदार प्रदर्शन गर्दै ४७ बल बाँकी रहँदै जित हासिल गरेकाे हाे ।
टस जितेर यूएईले पहिले बलिङ गर्ने निर्णय गरेको थियो, जुन सही सावित भयो। पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो। जापानका लागि वातारु मियाउचीले सर्वाधिक ४५ रन जोडेका थिए। उनले ३२ बलको सामना गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोऱ्याए।
जापानलाई सहजै रोक्ने क्रममा यूएईका बलर हैदर अलीले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २० रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए।
११७ रनको सामान्य लक्ष्य पछ्याएको यूएईले १२.१ ओभरमा २ विकेट गुमाएर ११८ रन बनाउँदै खेल सहजै आफ्नो पक्षमा पार्यो। यूएईका लागि ओपनर अलिशान सराफुले आक्रामक ब्याटिङ गर्दै मात्र २७ बलमा ४६ रन बनाए। कप्तान मुहम्मद वसीमले पनि २६ बलमा ४२ रनको योगदान दिए।
जापानका बलरहरूमध्ये डेक्लान सुजुकी-म्याककोम्ब र इब्राहिम ताकाहाशीले १-१ विकेट लिए पनि यूएईको तीव्र रनरेटलाई रोक्न सकेनन्। याेसँगै यूएईको विश्वकपमा छनाेट भएकाे छ । नेपाल र ओमान यसअघि नै छनाेट भइसकेका छन् ।













