काठमाडौं । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको नेपाली क्रिकेट टोलीका खेलाडीहरुले १९ लाख ५० हजार पाउने भएका छन् ।
आज आज भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले स्तब्ध पार्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनैपनि प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो । योसँगै च्याम्पियन खेलाडीहरुले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्को खेलकुद विकास नियमावलीअनुसार विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए । छनोट प्रतियोगिताको विजेता प्रमुख प्रशिक्षकले भने ६ लाख २५ हजार रकम पाउनेछन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । यसैगरी नेपाल क्रिकेट संघ क्यानले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ ।













