अर्जेन्टिनालाई हराउँदै मोरक्को बन्याे विश्व च्याम्पियन -वाइरिबल

कार्तिक ३, २०८२
morroco by Ditible

काठमाडाैं । मोरक्कोले इतिहास रच्दै फिफा यू-२० विश्वकप २०२५ को उपाधि जितेको छ । चिलीको सान्टियागोस्थित एस्टाडियो नेसियोनलमा भएको फाइनल खेलमा मोरक्कोले प्रतियोगिताको सर्वाधिक सफल टोली अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक विश्व च्याम्पियन बनेको हो।

अफ्रिकी राष्ट्र मोरक्कोको जितमा स्ट्राइकर यास्सिर् जाबिरी नायक बने। जाबिरीले पहिलो हाफमै दुई उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक अग्रता दिलाएका थिए।

१२औँ मिनेटमा मोरक्कोका लागि जाबिरीले शानदार फ्री-किक गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। यो गोलसँगै मोरक्कोले बलियो अर्जेन्टिनी रक्षापंक्तिलाई पहिलो पटक तोड्न सफल भएको थियो।

२९औँ मिनेटमा जाबिरीले उत्कृष्ट काउन्टर एट्याकमा आफ्नो दोस्रो गोल थपे । यस गोलमा ओथमान माम्माको पासमा उनले बललाई जाली चुमाएका थिए। जाबिरीको यो दोस्रो गोल नै खेलको निर्णायक सावित भयो।

प्रतियोगितामा कीर्तिमानी सातौँ उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल फर्काउने धेरै प्रयास गरे पनि मोरक्कोको सुदृढ रक्षापंक्ति तोड्न सकेन। मोरक्कोले आफ्नो दुई गोलको अग्रतालाई खेलको अन्तिमसम्म जोगाउन सफल भयो।

मोरक्को यू-२० विश्वकप जित्ने सन् २००९ मा घानापछि पहिलो अफ्रिकी टोली बनेको छ। जाबिरी प्रतियोगिताको संयुक्त सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटको दाबेदार पनि बने।

Leave a Reply

Your email address will not be published.