लन्डन। यूईएफए च्याम्पियन्स लिगमा प्रिमियर लिग क्लब आर्सनलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई दोस्रो हाफमा गोलको वर्षा गर्दै ४-० को फराकिलो अन्तरले पराजित गरेको छ।
इमिरेट्स स्टेडियममा भएको यो खेलको पहिलो हाफ निकै कडा र रक्षात्मक रह्यो, जहाँ दुवै टोलीले कुनै गोल गर्न सकेनन्। तर, दोस्रो हाफमा आर्सनलले आफ्नो आक्रामक शैलीमा १३ मिनेटभित्र चार गोल गर्याे ।
खेलको ५७औँ मिनेटमा आर्सनलले पहिलो सफलता हात पार्यो। डेक्लन राइसको उत्कृष्ट फ्री-किकलाई ब्राजिलियन डिफेन्डर गाब्रियल मागाल्हेसले शक्तिशाली हेडरमार्फत गोलमा परिणत गर्दै अग्रता दिलाए।
त्यसको केही मिनेटपछि नै ६४औँ मिनेटमा गाब्रियल मार्टिनेलीले उत्कृष्ट फिनिस गर्दै स्कोर २-० बनाए । युवा खेलाडी माईल्स लेविस-स्केलीको प्रेरणादायी दौडपछि मार्टिनेलीले बललाई नियन्त्रणमा लिएर जाली चुमाए।
आर्सनलका लागि समरमा अनुबन्ध भएका स्ट्राइकर भिक्टर ग्योकेरेसले आफ्नो गोलको खडेरी तोड्दै ६७औँ मिनेटमा तेस्रो गोल गरे। नजिकैबाट प्रहार गरिएको उनको शट डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो।
त्यसको तीन मिनेटपछि, ७०औँ मिनेटमा ग्योकेरेसले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को जित दिलाए ।













