काठमाडाैं । मध्य प्रदेशको इन्दौरमा आईसीसी महिला एकदिवसीय विश्वकपमा सहभागी भइरहेका दुई अस्ट्रेलियाली महिला क्रिकेटरलाई एक मोटरसाइकलमा सवार पुरुषले पछ्याउने र दुर्व्यवहार गरेको घटना बाहिर आएको छ। प्रहरीका अनुसार घटना बिहीबार अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको महत्त्वपूर्ण खेल खेल्नुभन्दा दुई दिनअघि भएको थियो।
प्रहरी उप-निरीक्षक निधि रघुवंशीले बताएअनुसार घटना बिहीबार बिहान खजराना रोड क्षेत्रमा भएको हो, जब दुई क्रिकेटर राडिसन ब्लू होटेलबाट एक क्याफेतर्फ जाँदै थिए। एक पुरुषले मोटरसाइकलमा उनीहरूलाई पछ्याउन थाले र तीमध्ये एकलाई अश्लील तरिकाले छोएर भागे।
खेलाडीहरूले तत्काल आफ्ना टोली सुरक्षा अधिकारी ड्यानी सिमन्सलाई सम्पर्क गरे। उनले स्थानीय सुरक्षा सम्पर्क अधिकारीहरूसँग समन्वय गरी सहयोगका लागि गाडी पठाए।
घटनाको जानकारी पाएपछि सहायक प्रहरी आयुक्त हिमानी मिश्रले दुवै खेलाडीसँग भेट गरी बयान रेकर्ड गरिन् र एमआईजी प्रहरी चौकीमा भारतीय न्याय संहिता को धारा ७४ (महिलाको लज्जा भङ्ग गर्ने उद्देश्यले आपराधिक बल प्रयोग) र धारा ७८ (पछ्याउने/स्टाकिङ) अन्तर्गत पहिलो सूचना रिपोर्ट दर्ता गरियो।
एक प्रत्यक्षदर्शीले संदिग्धको मोटरसाइकल नम्बर टिपेको आधारमा प्रहरीले आरोपित अकील खानलाई तत्काल पक्राउ गरेको छ । अधिकारी रघुवंशीका अनुसार खानमाथि पहिले पनि आपराधिक मुद्दाहरू दर्ता छन् र यस घटनामा थप अनुसन्धान जारी छ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित साइकियाले यस ‘दुर्भाग्यपूर्ण घटना’ को निन्दा गर्दै भनेका छन् “यस प्रकारका घटनाले बदनामी ल्याउँछ। हामीले दोषीलाई पक्रन तत्काल कदम चालेकोमा राज्य प्रहरी (मध्य प्रदेश) को सराहना गर्छौं। दोषीलाई कानुनअनुसार सजाय मिलोस्।”
अस्ट्रेलियाली टोली एक हप्तादेखि इन्दौरमा रहेको र घटना हुनुभन्दा एक दिनअघि बुधबार इङ्गल्याण्डसँग खेलेको थियो। टोलीले आज दक्षिण अफ्रिकासँग खेलिरहेकाे छ र त्यसपछि सेमिफाइनलको खेलका लागि गुवाहाटी वा मुम्बई जानेछ।










