काठमाडौं । अपराजित रहँदै आईसीसी टी२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट च्याम्पियन बनेर विश्वकपको यात्रा पक्का गरिसकेको नेपाली क्रिकेट टोलीले आज आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई सिरिजको पहिलो खेलमा अमेरिकाको सामना गर्दैछ । खेल नेपाली समयानुसार बिहान ११ बजेर १५ मिनेटमा दुबई इन्टरनेसनल स्टेडियममा सुरु हुनेछ ।
नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूमा उत्साह भरेको थियो, अब लिग २ मा उत्कृष्ट पुनरागमन गर्दै अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा छ ।
नेपाल र अमेरिकाबीच ओडीआई क्रिकेटमा कुल ९ खेलहरू भएका छन्, जसमा दुवै टोलीले समान ४–४ खेलमा विजय हासिल गरेका छन् । एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । हालका भिडन्तहरू हेर्दा अमेरिकाले २०२४ मा आफ्नै मैदानमा भएको दुई खेलहरूमा नेपाललाई क्रमशः ३७ रन र ३ विकेटले हराएको थियो।
यो सिरिजमा नेपालले आफ्नो लय देखाउँदै उत्कृष्ट प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ ।
आईसीसी विश्वकप लिग २ को हालको अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ, जसले २० खेलमा १४ जित, ६ हार र २८ अंक जोडेको छ । यता नेपाल भने सातौं स्थानमा छ । १६ खेलमा ५ जित, ९ हार र २ नतिजाविहीन खेलबाट १२ अंक मात्रै जोडेको छ । यही सिरिजमा रहेको घरेलु टोली युएई भने समान खेलमा ६ अंकसहित पुछारमा छ ।
८ टोली सहभागी यो प्रतियोगितामा शीर्ष तीन टोली मात्रै सन् २०२७ को आईसीसी विश्वकपमा छनोट हुनेछन् । लिग–२ मा प्रत्येक टिमले ३६ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्छन् । त्यसो हुँदा नेपाललाई लिग २ मा स्थान बलियो पार्न निरन्तर जितको खाँचो छ । नेपालले यो सिरिजमा सबै खेल जितेमा पनि २० अंकमा पुग्नेछ जुन अवस्थामा नेपाल १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्छ । पछिल्लोसमय लगातार जितले टोलीको मनोबल पक्कै बढाएको छ । तर, विश्वकप क्वालिफायरमा पुग्न नेपालले अब बाँकी रहेका खेलमध्ये अधिकांश जित्नुपर्ने हुन्छ ।
यता अमेरिका भने उत्कृष्ट फर्ममा छ । २० खेलमा १४ जितले उनीहरूको आक्रामक शैली झल्काउँछ । तर दुबईको मैदानमा नेपालले आफ्नो स्पिन आक्रमणको फाइदा लिन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
टी२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा छन् र लिग २ को यो सिरिज खेल्दैछन् । त्यसकारण नेपालका लागि ती खेलाडीहरूको लय राम्रो हुनु फाइदाको विषय पनि हो । विश्वकप छनोटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलम टोलीमा भित्रिएका छन् ।










