काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएकाे सिजनको पहिलो बहुप्रतिक्षित ‘एल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनामाथि रोमाञ्चक जित हासिल गरेको छ।
सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाएको हाे ।
रियल म्याड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पेले जुड बेलिङ्घमको उत्कृष्ट पासमा २२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ३८औं मिनेटमा फर्मिन लोपेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए।
पहिलो हाफ सकिनु ठिक अघि, ४३औं मिनेटमा जुड बेलिङ्घमले नजिकबाट सहज गोल गर्दै रियल म्याड्रिडलाई २-१ को अग्रता दिलाए, जुन नतिजा खेलको अन्त्यसम्म कायम रह्यो।
खेलको अन्त्यतिर मैदानमा केही तनावपूर्ण दृश्य देखिए। बार्सिलोनाका मिडफिल्डर पेड्रीले ९०+१०औं मिनेटमा दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्नु पर्यो। यसैगरी रियल म्याड्रिडका गोलकिपर एन्ड्री लुनिनले पनि ९०औं मिनेटमा रातो कार्ड पाइसकेका थिए।













