प्रिमियर लिगमा आर्सनल र टोटनह्यामको जित -वाइरिबल

कार्तिक १०, २०८२
arsenal 2 by Ditible

काठमाडाैं । इङ्लिस प्रिमियर लिगमा आर्सनल र टोटनह्यामले जित दर्ता गरेका छन् ।

एमिरेट्स स्टेडियममा भएको खेलमा लिग लिडर आर्सनलले क्रिस्टल प्यालेसलाई १-० को संघर्षपूर्ण गोल अन्तरले पराजित गर्‍यो। आर्सनलको जितमा निर्णायक गोल खेलको ३९औं मिनेटमा भयो।

समरमा क्रिस्टल प्यालेसबाटै आर्सनलमा अनुबन्ध भएका मिडफिल्डर एबेरेची एजेले आफ्नो पूर्व क्लबविरुद्ध शानदार गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाएका थिए। उनको यहि एक मात्र गोल आर्सनललाई शीर्षस्थानमा चार अङ्कको स्पष्ट अग्रता कायम गराउन पर्याप्त भयो।

यस्तै, अर्को खेलमा टोटनह्याम हटस्परले एभर्टनलाई उसकै नयाँ मैदान हिल डिकिन्सन स्टेडियममा ३-० को फराकिलो अन्तरले हराउँदै शानदार जित दर्ता गर्‍यो। टोटनह्यामका लागि रक्षापंक्तिका खेलाडी मिकी भान डे भेनले दुई गोल गर्दै सनसनी मच्चाए।

भान डे भेनले कर्नर किकमा आएको बलमा १९औं मिनेटमा पहिलो र पहिलो हाफको अतिरिक्त समयमा दोस्रो गोल गर्दै टोलीलाई २-० को बलियो स्थितिमा पुर्‍याएका थिए। त्यसपछि खेलको अन्त्यतिर ८९औं मिनेटमा रिचार्लिसनको हेड पासमा अर्का मिडफिल्डर पापे मटर सारले गोल गर्दै टोटनह्यामलाई ३-० को सहज जित दिलाए। यस जितसँगै टोटनह्याम लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published.