बेन्जेमाको ‘कमब्याक’सँगै रोनाल्डोको टोली किङ्स कपबाट बाहिरियो -वाइरिबल

कार्तिक १२, २०८२
Capture 7 by Ditible

काठमाडाैं । पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको टोली अल नासर बहुप्रतिक्षित साउदी किङ्स कपको अन्तिम १६ बाटै बाहिरिएकाे छ।

गएराति भएकाे खेलमा करीम बेन्जेमाको टोली अल इत्तिहादले अल नासरलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हाे । रोनाल्डोको अल नासरलाई प्रतियोगिताबाट बाहिर निकाल्दै फ्रेन्च स्ट्राइकर बेन्जेमाले सिजनको आफ्नो निराशाजनक सुरुवातपछि महत्त्वपूर्ण जित हासिल गरेका छन्। लिगमा उत्कृष्ट लयमा रहेको रोनाल्डोको टोलीले किङ्स कपमा भने आफ्नो प्रदर्शन दोहोर्याउन सकेन।

१५औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै अल–इत्तिहादलाई अग्रता दिलाए । त्यसपछि अल नासरका लागि ब्राजिलियन फरवार्ड एन्जेलोले ३० औँ मिनेट वरपर रिबाउन्डमा गोल गर्दै बराबरी गरे।

तर, पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा हुसेम आउआरले गोल गर्दै इत्तिहादलाई फेरि अग्रता दिलाए। दोस्रो हाफको सुरुआतमै अल–इत्तिहादका अहमद अल–जुलैदान रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि बाँकी समय थप गाेल नहुँदा नासर पराजित हुन पुग्याे।

क्रिस्टियानो रोनाल्डोले आफ्नो ९५१ औँ करियर गोलको लागि अथक प्रयास गरे, तर जाली चुमाउन सकेनन्। उनको निराशा अन्तिम मिनेटमा स्पष्ट देखिन्थ्यो। यस हारसँगै रोनाल्डोले सउदी अरेबियामा अर्को उपाधि जित्ने अवसर गुमाएका छन्। यद्यपि, उनको टोली अल नासर साउदी प्रो लिगमा भने लगातार ६ जितका साथ शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published.