काठमाडाैं । पाकिस्तानका ब्याट्सम्यान बाबर आजम पुरुष टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उनले शुक्रबार लाहोरमा दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी-२० मा भारतीय ब्याट्सम्यान रोहित शर्माको कीर्तिमान तोडेका हुन्।
बाबर आजमलाई रोहित शर्माको ४,२३१ रनको कीर्तिमान तोड्नका लागि ९ रन चाहिएको थियो। उनले ११ रनमा अविजित रहँदै पाकिस्तानलाई ९ विकेटको फराकिलो जित दिलाए र ३ खेलको शृंखला १-१ को बराबरीमा पुर्याए।
उनले स्पिनर डोनोभान फेरेराको बलमा लङ-अफमा सिंगल रन लिँदै रोहितको कीर्तिमानलाई पछि पारेका थिए।
बाबर आजमले १३० टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा ४,२३४ रन बनाएका छन्, जसमा ३६ अर्धशतक र ३ शतक समावेश छन्। उनको स्ट्राइक रेट १२९ रहेको छ।
रोहित शर्माले १५९ टी-२० अन्तर्राष्ट्रियमा ४,२३१ रन बनाएका थिए र उनले गत वर्ष टी-२० विश्वकपको उपाधि जितेपछि अन्तर्राष्ट्रिय क्रिकेटको छोटो स्वरूपबाट सन्यास लिएका थिए।
लगभग एक वर्षपछि टी-२० टोलीमा फर्किएका बाबर आजमले पहिलो खेलमा ‘डक’ आउट भएर कीर्तिमान बनाउने मौका गुमाएका थिए, तर उनले दोस्रो खेलमा सो अवसरलाई सदुपयोग गरे।
अब शृंखलाको तेस्रो तथा निर्णायक टी-२० खेल शनिबार हुनेछ।













