काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले फितलो बलिङको सुरुवात गरेको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अमेरिकाले पहिलो १० ओभरमा विना विकेटको क्षतिमा ५३ रन बनाएको हो । नेपालका कुनै पनि बलरले विकेट लिन सकेका छैनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएकाे थियाे ।
नेपालका लागि ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए ।
अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै, जसदीप सिंह र शुभम रन्जानेले समान एक–एक विकेट लिए ।













