काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल आज अमेरिकासँग ४ विकेटले स्तब्ध भएको हो । यसअघि सिरिजको पहिलो खेलमा पनि नेपाल १०६ रनले पराजित भएको थियो ।
दुबईस्थित आईसीसी एकेडेमीमा २७२ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाका लागि मिलिन्द कुमार र साइतेजा मुक्कामालाको शतकीय साझेदारी निकै महत्वपूर्ण रह्यो । अमेरिकाका लागि मुक्कामालाले ७५ रन र मिलिन्द कुमारले ७० रन बनाएर जितको आधार तयार पारे।
नेपालका तर्फबाट भने स्पिनर सन्दीप लामिछानेले ३ तथा गुलशन कुमार झा र करण केसीले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएकाे थियाे ।
नेपालका लागि ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए ।
अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै, जसदीप सिंह र शुभम रन्जानेले समान एक–एक विकेट लिए ।
अमेरिकाले यो जितसँगै लिग २ मा आफ्नो दबदबा कायमै राखेको छ। नेपालको लागि भने यो हारले लिग तालिकामा थप चुनौती बढाएको छ।













